थप ८ दिन लकडाउन गर्ने सरकारको निर्णय

सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको हो। अब लकडाउन चैत २५ गते मध्यराति १२ बजेसम्म कायम हुनेछ।

यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडान बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो ।

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । त्यसपछि पनि थप ८ दिन लकडाउन हुनेछ ।

कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ ।

त्यस्तै सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात् आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।

सरकारले घोषणा गरेको अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध गत आइतवारको मध्यरातीबाट लागू भएको थियो । सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोकेको छ । तर, यहाँबाट यात्रु लिएर जान खाली विमान आउन सक्छन् ।

त्यसअनुसार विभिन्न एयरलाइन्सहरुले अहिले पनि विदेशीहरु लैजान उद्दारको उडान गरिरहेका छन् । नेपाल एयरलाइन्सले कार्गो उडान पनि गरेको छ । गएराती मात्रै चीनबाट नेपाल एयरलाइन्सले मेडिकल सामग्री ल्यायो ।

सरकारले यात्रु लिएर आउन प्रतिवनध लगाएपछि पनि केही एयरलाइन्सले अटेरी गरेर विमान ल्याएका थिए । त्यसका कारण ७० भन्दा बढी खरिपाटीको क्वारेन्टाइनमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *